बन्जारा तथा बन्जाडे थर उत्पत्तिको इतिहास

कौडिन्य गोत्र र थरहरुको उत्पत्तिः

मानव जातिको विकास क्रममा स्थान अनुकुल बिभिन्न मानवीय सभ्यताहरुको विकास हुँदै गयो । यसै अन्तर्गत सिन्धुघाँटी सभ्यतालाई विश्वकै दोश्रो पुरानो सभ्यताको रुपमा लिईन्छ । सिन्धुघाँटी सभ्यताको विकास करिव इ.पू. ७०० तिर हालको “इन्दुस” नदीको किनार हुँदै तिव्वत, पाकिस्तान र भारतको बिभिन्न भू–भागमा भएको सभ्यताको विकासलाई लिईन्छ । यही नदिको किनारमा बस्ने मानबलाई इन्दुसबाट हिन्दुको नाम दिई हिन्दु धर्मको उत्पत्ति भएको मानिन्छ । हिन्दु धर्ममा बम्हालाई मूख्य देवताकोरुपमा मानिन्छ भने शिष्यहरुलाई ऋषीमुनीहरुको नामले चिनिन्छ ।

धर्मग्रन्थहरुका अनुसार हिन्दु धर्मावलम्बीहरु तिनै ऋषीमुनीका सन्तान हुन । ऋषीमुनीहरुको नाम बाट नै गोत्रको नामाकरण भएको हो । मुख्यतः सप्तऋषीका नामबाट गोत्रको उत्पत्ति भएको मानिन्छ । समान गोत्र भएका मानिसहरु एकै पुर्खाका सन्तान भएकाले दाजुभाई सरह मान्ने चलन रहिआएको छ । सप्तऋषी मध्येका एक बशिष्ठ ऋषीका छोरा कौडिन्य ऋषी थिए । यिनै कौडिन्य ऋषीका सन्तानहरु कौडिन्य गोत्रीय मानिन्छन् । समय बित्दैजाँदा सन्तानहरुको बृद्धि सँगसँगै बिभिन्न स्थानमा बसोबास गरेको ठाऊँ बिशेष र अबलम्बन गरेको पेशाको आधारमा थरहरुको उत्पत्ति भएको पाईन्छ ।

“अवस्थी, आचार्य, बन्जाडे, बन्जारा, बाँसकोटा, गैरे, कमलकोटे, खड्का (लकाई), खरेल, मरासिनी, न्यौपाने, प्याकुरेल, पल्याल(भट्ट), पनेरु, पराजुली, रावल, सापकोटा, सत्याल, थापा(गाम्ले, बगाले), त्रिताल आदि थरहरु कौडिन्य गोत्र अन्तर्गका हुन । जस्तै जुम्लाको प्याकुरी भन्ने ठाऊँको नामबाट प्याकुरेल, दैलेखको बाँझकोटबाट बाँस्कोटा, गौराबाट गैरे, पराजुलबाट पराजुली, मौडासैनबाट मरासिनी थरहरुको उत्पत्ति भएको भन्ने किंबदन्तीहरु रहेका पाईन्छ ।”

बन्जारा तथा बन्जाडे थरको शुरुवातः

करिव चौधौं शताब्दी तिर नागराज राजाले स्थापना गरेको शक्तिशाली जुम्ला/सिंजा राज्य हालको बाजुरा, मुगु, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला, दैलेख सम्म फैलिएको थियो । सिंजा राज्यले आफ्नो राज्य भित्रका ठाऊँ–ठाऊँमा कोटहरु स्थापना गरी सैनिक र प्रशासनिक अड्डा स्थापना गरेको थियो । ईतिहासकारहरुको भनाई अनुसार हालको कालिकोट जिल्लामा पर्ने रास्कोट पनि एक हो ।
“सोही कालिकोट जिल्लाको हाल पलाँता गाऊँपालिका वडा नं.–१ (साविक धौलागोह गा.बि.स. वडा नं.–४) मा थालि आकारको भयंकर ठूलो बाँझको रुख भएकाले उक्त ठाऊँलाई तत्कालिन समयमा थालेबाँज भन्ने गरिन्थ्यो । पछि जुम्लाको सिंजाबाट बिर जैसी नामका कौडिन्य गोत्रका ब्राम्हण थालेबाँझमा बसाँई सरेर आउँदा उक्त रुखको सुकेको जरो मात्रै बाँकी रहेको थियो । यसपछि बाँझको जरो मात्रै रहेकोले बिर जैसीले उक्त ठाऊँको नाम बाँझजरो भन्ने राखेका थिए । यसपछि भाषिक उच्चारण अपभ्रंस भई सो ठाऊँलाई “बान्जरा” भन्ने गरियो र हाल उक्त ठाऊँलाई “बान्जडा” भन्ने चलन रहिआएको छ । त्यसपछि बान्जडा (बान्जरा) गाऊँबाट केही बसाँई सरेर अन्तै गए भने केही त्यही नै बसोबास गर्न थाले ।”
(श्रोतः पलाँता गाऊँपालिका वडा सचिव श्री विष्णुकान्त प्याकुरेल (बान्जडे) र गणेश आधारभूत विद्यालय खाँडागाऊँ प्रधानाध्यापक श्री सर्प न्यौपाने)

“सोही ठाऊँमा बसोबास गर्ने तीन दाजुभाईले आफ्नो अंश लगाउँदा सुन, चाँदी, हिरा, तिर्थरत्न आदि मिसिएर बनेको एउटा थाली कसरी बाड्ने भनी बिबाद हुँदा एक भाईले प्याट्ट फुटाएकोले प्याकुरेल, अर्को भाईले निहुँ खोजेकोले न्यौपाने र अर्को भाईले अचाकली गरेकोले आचार्य थर रहन गएको भन्ने भनाई छ । हाल बान्जडेगाऊँमा प्याकुरेल, आयार्य र न्यौपानेहरुको बस्ति रहेको छ, जो कौडिन्य गोत्रीय ब्राम्हण हुन । यस्तै बसाँई सरेर अन्तै गएका ब्राम्हणहरुलाई बान्जडा (बान्जरा) गाऊँबाट आएको हुनाले त्यहाँका मानिसहरुले बान्जरे तथा बान्जडे भनेको कारणले बन्जारा तथा बन्जाडे थर रहन गएको भन्ने भनाई रही आएको छ । यसर्थ प्याकुरेल, न्यौपाने र आचार्य थर भएका कौडिन्य गोत्रका ब्राम्हणसँग बन्जारा तथा बन्जाडे ब्राम्हणहरु नजिकका हुन भन्ने बुढापाकाको भनाई र किंबदन्ती रहि आएको छ ।”
(श्रोतः पलाँता गाऊपालिका वडा सचिव श्री विष्णुकान्त प्याकुरेल (बान्जडे) र गणेश आधारभूत विद्यालय खाँडागाऊँ प्रधानाध्यापक श्री सर्प न्यौपाने)

यद्यपि आचार्य, न्यौपाने बन्धुहरुको वंशावलीमा “करिव १३औं शताब्दितिर जुम्लाका तत्कालिन नरेश रणकेशर सिंहले गरेको यज्ञमा दुई कौडिन्य ब्राम्हण मध्ये भाई सदानन्दले सानो खाडल बनाई बरुण मन्त्रले पानी उव्जाएको र दाजु सच्चिदानन्दले यज्ञकुण्डको समिदामा मन्त्र पढेर पानी सेचन गराई दन्दनाएर आगो बालेको देखेर सबै चकित परेपछि तिनै नरेशले दाजुलाई आचार्य र भाईलाई नवपाणिय भनि उपाधि सहित विर्ता दिएर बसोबास गएको र ति दुई दाजुभाईका दरसन्तानहरु नै आचार्य र न्यौपाने थरले कहलाएका हुन भनी उल्लेख गरिएको पाईन्छ ।”
(श्रोतः https://neupanebandhu.com.np, न्यौपाने थरको नामाकरण सम्बन्धि विमर्श,फणिन्द्रप्रसाद न्यौपाने)

“नेपालका अधिकांश ब्राम्हणहरु जस्तै बन्जाडेहरुको पनि आदि थलो सिंजा राज्य अन्तर्गत कर्णालीको किनारमा पर्ने बन्जारागाऊँ हो । हाल सो गाऊँ कालिकोट जिल्लामा पर्दछ । अन्वेषक पूर्ण प्रकाश नेपाली यात्रीका अनुसार कौडिन्य गोत्रका लम्बोदर नाऊँ भएका एकजना ब्राम्हण प्रख्यात बास्तुबिद् र ज्योतिषी थिए । तिनले सिंजाधिपतिलाई प्रभाव पारेका थिए । लम्बोदर ब्राम्हणका छोरा आलमले बन्जारागाऊँ बिर्ता पाएका थिए । आलमका चार भाई मध्ये माहिला छोरा तिलुका सन्तान स्थानान्तरण हुँदै बन्जारा तथा बन्जाडे थरले प्रसिद्ध भएर कालिकोट पूर्वका बिभिन्न स्थानमा बसोबास गर्न थाले । लम्बोदर ब्राम्हणका सन्तान अनेक स्थानमा बसोवास गरेका हुनाले सत्याल, आचार्य, खदाल, सापकोटा, प्याकुरेल, न्यौपाने, पराजुली गैरे आदि चौधथरी ब्राम्हणहरुका रुपमा विस्तारित भएको पाईन्छ ।”
(श्रोतः पूर्णप्रकाश नेपाल यात्री, जन्मजय बन्जाडे र शुभद्रा बन्जाडे सन्दर्भसूचक व्यक्तिहरु खुलाई लेखक श्री दुर्गा प्रसाद अर्यालको “बन्जाडे थरको सन्दर्भ र अर्घाखाँचीका बन्जाडेहरुको चियोचर्चो” शीर्षकको लेख)

बन्जारा तथा बन्जाडे बन्धुहरु कसै कसैले हामी आचार्यका सन्तान हौं, कसैले न्यौपानेका सन्तान हौं भन्ने गर्नु भएको छ तर यो भ्रम सिवाय केही होईन किनकी जसरी आचार्य र न्यौपाने थरहरु उत्पत्तिको आफ्नै इतिहास रहेको छ त्यसरी नै बन्जारा तथा बन्जाडे थरको उत्पत्तिको पनि आफ्नै इतिहास रहेको र अरु कुनै थरबाट उत्पत्ति भएको नभई कौडिन्य ब्राम्हण कै दरसन्तानहरुले स्थान विषेशकै कारणले बन्जारा तथा बन्जाडे थरको शुरुवात गरेको तथ्यलाई माथि उल्लेख भएका सन्दर्भहरुले प्रमाणित गरेको छ ।

साथसाथै सल्यान जिल्ला हालको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ६ स्थित बनगाड भन्ने ठाऊँ जसलाई जंगलबाट निस्केको खोला (गाड) भएको कारणले बनगाड भन्ने गरिएको र सोही स्थानमा बासोबास गर्ने कौडिन्य गोत्रका ब्राम्हणहरुलाई बनगाडे भन्दै जाँदा अपभ्रंस भई बन्जारा तथा बन्जाडे हुन गएको हो भन्ने भनाई पनि छ । तर यो भनाई प्रमाणित हुने कुनै श्रोत नभएकोले थप खोज तथा अनुसन्धान गर्नुपर्ने देखिन्छ भने बसाई सराईको क्रममा कालिकोटको बान्जडामा बसोबास गर्ने ब्राम्हणहरु नै सल्यानको बनगाडमा आएको हुनसक्ने र बन्जारा तथा बन्जाडे थर कहलाएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।

“बनगाडमा करिव ३०० बर्ष पुरानो एउटा छानो नभएको मन्दिर अहिले पनि विद्यमान छ । वरिपरी चारवटा ठूल्ठूला बरको रुखले घेरिएको उक्त मन्दिरमा कौडिन्य गोत्रका सबै थरका ब्राम्हणहरुले हाल पनि कूल पूजा गर्ने गर्दछन । यहाँ करिव ३०० बर्ष पुरानो २ वटा घन्टहरु पनि छन । मन्दिरमा कूलपूजाको दिन महिलालाई प्रबेश निषेध गरिएको छ । यसको कारण बरको रुखले घेरिएकोले महिला जान नहुने भन्ने रहेछ । यदि उक्त स्थानमा कसैको बहुमूल्य बस्तु छुट्यो र अरु कसैले उठाएर लग्यो भने घर पुग्न नपाउँदै ठूलै क्षति हुने विश्वास पनि रहि आएको छ ।”
(श्रोतः बरिष्ठ उपाध्यक्ष पवन बन्जाडे एवं उपाध्यक्ष रामकुमार बन्जारा  बन्धु शालिकराम बन्जाराको भ्रमण र बनगाड निवासी श्री टिकाराम न्यौपाने र गोपाल न्यौपाने )

जैशी हुनगएको सन्दर्भः

बेदमा बैद्धिक नियम र पूर्ण आचरण एवं अनुशासनका बिषयहरु उल्लेख भएको हुनाले बेद अध्ययन गर्ने व्यक्तिले भनेका कुराहरु मानव जीवनका परिवेश सँग ठ्याक्कै मेल खान्छन तर ज्योतिषशास्त्र अध्ययन गर्ने व्यक्तिले मानव जीवनका परिवेश सँग बोलेका कुराहरु घडी, पोला र सेकेन्ड समयको मात्रै फरक परेको कारणले पनि नमिल्ने गरेको पाईन्छ । यसर्थ नै बेद पढने ब्राम्हणलाई उपाध्याय र ज्योतिषशास्त्र पढने ब्राम्हणलाई जैशी भन्ने चलन रहि आएको थियो । मध्यकालमा जैशी पद प्राप्तिका लागि ठूलो बिद्धता हाँसिल गरेको हुनुपर्ने तथा राजाका दरबारहरुमा समेत विद्धानहरुका लागि जैशी कोठाको व्यवस्था गरिएको हुने र काठमाण्डौको बसन्तपुर नजिक जैशीदेवल समेत निर्माण हुनुले “जैशी” प्रतिष्ठित पद र विद्धताको प्रतिकको रुपमा रहेको पाईन्छ ।

बन्जारा तथा बन्जाडे ब्राम्हणका पुर्खा कौडिन्य गोत्रका लम्बोदर प्रख्यात बास्तुबिद्ध र ज्योतिष थिए, जसले सिंजाधिपतिलाई नै प्रभाव पारेका थिए भन्ने तथ्य माथि उल्लेख भईसकेको छ । ज्योतिष हेराउने कुरालाई हाल पनि हाम्रो समाजमा जैशी हेराउने भन्ने भाषा विद्यमान रहेको छ । त्यसैले ज्योतिषशास्त्रका विद्धानका सन्तान भएको कारणले र ज्योतिष पढने ब्राम्हणले आफ्नो नामको पछाडि जैशी जोडेर लेख्दै आईरहेको कारणले थालेबाँझ बसाई सरेर आएका बिर नामका ब्राम्हणले पनि आफ्नो नामको पछाडि जैशी जोडेर लेखेका थिए । यही कारणले हाल देशका बिभिन्न स्थानहरुमा बसोबास गर्ने तिनै प्रख्यात ज्योतिषका सन्तान बन्जारा तथा बन्जाडे थरले कहलाएका ब्राम्हणहरु जैशी ब्राम्हण रहन गएका हुन भन्ने तथ्य प्रमाणित भएको छ ।

साथै कौडिन्य गोत्रका ब्राम्हणले अर्कै बरसँग बिबाहको टुङ्गो भईसकेकी तर बिबाह पूर्व नै उक्त बरको मृत्यु भएर बसेकी कन्यासँग बिबाह गरेको कारणले तिनका सन्तान जैशीमा झरेका र तिनकै दरसन्तान बन्जारा तथा बन्जाडे जैशी भएका हुन भन्ने भनाई पनि रहेको छ । यस्तै कुनै कौडिन्य ब्राम्हणले “बाम्हत्व” (ब्राम्हणहरुले पालना गर्नुपर्ने नियम) अनुशरण नगरेको भनौं आचरण विगारेको कारणले जन्मेका सन्तानलाई जैशी बनाईएकाले बन्जारा तथा बन्जाडे जैशी भएका भन्ने भनाईहरु पनि कहि कतै सुनिन्छन् । तर यी भनाईहरु प्रमाणित हुने श्रोत हालसम्म नभेटिएको हुँदा आगामी दिनमा थप खोज तथा अनुसन्धान गर्दै जानुपर्ने देखिन्छ ।

बसाँइ सराईको सन्दर्भः

बन्जारा बन्जाडेहरु शारिरीकरुपमा अग्ला कद भएका, हकी स्वभावका, अलि बढि हठ प्रदर्शन गर्ने, कडा अनुवंशिक लक्षण एवं चातुर्य भएकाले पनि बसोबास गरीआएको ठाँऊ छोडी उर्वर, प्राकृतिकरुपमा सुन्दर र उपयुक्त स्थानहरुको खोजी गरी बसाँई सरेर जाने, क्षमतावान भएकाले जहाँ बसे पनि आत्मनिर्भर हुन सक्ने, पशु पालन गर्ने, बिभिन्न व्यापार, व्यवसायमा संलग्न हुने गर्दथे । यही कारणले पनि समयक्रम सँगै कालिकोट र सल्यानमा बसोबास रहेका बन्जारा तथा बन्जाडेहरु अर्घाखाँची, गोरखा तिर क्रमशः बसाई सर्दै गए । र गोरखा तिर बस्न थालेपछि पश्चिममा भाषिक उच्चारणमा “ड” भनिले अक्षर पूर्वमा “र” उच्चारण हुने भएकाले बन्जारा लेख्न बोल्न थालिएको पाईन्छ ।

पृथ्वी नारायण शाहले एकिकरण अभियानका क्रममा सल्यानका राजा श्री शाहको राज्यको बारेमा भगवन्तनाथ ऋषीबाट थाहा पाएपछि श्री शाहका छोरा युवराज रणभिम शाहलाई आफ्नी छोरी बिलाशकुमारीको विबाह ऋषी भगवन्तनाथको मध्यस्थतामा गरिदिएका थिए । पृथ्वी नारायण शाहको कुनैपनि ठाऊँको राम्रो लागेको चिज बस्तु गोरखामा लाने बानी नै थियो । सोही अनुरुप त्यस क्षेत्रतिर बसोबास गर्ने बन्जारा तथा बन्जाडेहरु पनि शारिरीकरुपम हृष्टपुष्ट, हकी स्वभावका अब्बल र चातुर्य रहेको देखेर पृथ्वी नारायण शाहले बन्जारा तथा बन्जाडेहरुलाई पनि गोरखामा ल्याएर बस्ती बसालेको भन्ने भनाई रहेको पाईन्छ । त्यस पश्चात राजाहरुले बिभिन्न ठाऊँमा बिर्ता दिएर बसोबास गर्ने क्रममा गोरखाबाट काभ्रेको पनौति, कास्कीको लेखनाथ, खोटाङको छुलुवार, सिन्धुपाल्चौक आदि ठाउँहरुमा बन्जाराहरुको बस्ती बिस्तार भएको पाईन्छ ।

भौगोलिक विकटताले विकासमा पछि परेका स्थानबाट भौतिक पूर्वाधार र अन्य सुबिधाको अभाव महशुस गरी तराई तथा ठूला शहरमा बसाई सराईको क्रम चलेपछि अर्घाखाँचीबाट केही संख्यामा पायक पर्ने क्षेत्रहरु दाङ्ग, कपिलबस्तु, रुपन्देही, नवलपरासी, काठमाण्डौं उपत्यकातिर बसाँई सरेको भएतापनि ठूलो संख्यामा अर्घाखाँचीमै बसोबास रहेको पाईन्छ । त्यस्तै गोरखा, सिन्धुपाल्चौक र खोटाङबाट झापा मोरङ्ग, सुनसरी, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाण्डौं उपत्यकामा बसाँई सरेको पाईन्छ । तर काभ्रेको पनौती देशको राजधानी काठमाण्डौबाट नजिक र भौतिक पूर्वाधार तथा अन्य सेवा सुबिधाहरु उपलब्ध भएको क्षेत्र भएको कारणले नगन्यरुपमा मात्रै काभ्रेकै अरु स्थान, काठमाण्डौ उपत्यका र ललितपुर तिर बसाई सरेको पाईन्छ । यसर्थ हाल अर्घाखाँची र काभ्रे जिल्लामा एकिकृतरुपमा बन्जारा तथा बन्जाडे बन्धुहरुको ठूलो बस्ती रहेको छ ।

बन्जारा तथा बन्जाडे एकै हुनुका तथ्यहरुः

बन्जारा तथा बन्जाडे बन्धुहरुमा रहेका निम्नानुसारका एकरुपता एवं बिषयहरुले एउटै पुर्खाका सन्तान हुन भन्ने तथ्यलाई प्रमाणित गरेको छः

  • देशैभर छरिएर रहेका भएतापनि बन्जारा र बन्जाडेहरु सबैको गोत्र कौडिन्य हुनु ।
  • बन्जारा तथा बन्जाडे थरको उत्पत्ति भएको गाऊँ र उत्पत्तिको कथ्य समान हुनु । (कालिकोट जिल्लाको साविक धौलागोह  गा.बि.स. वडा नं.–४, हाल पलाँता गा.पा. वाड नं. १ स्थित बान्जडा(बान्जरा) गाऊँ, बाँझको रुख, थर रहन गएको सन्दर्भ आदि)
  • बन्जारा र बन्जाडेहरु जैशी ब्राम्हण हुनु । (पछि क्षेत्री भएको फरक पाटो हो ।)
  • कुल देवता “बाह्रमष्ट”, “दारेमष्ट”, “मत्स्य” वा “दारो भएको” आदि जे भनि उच्चारण गर्ने गरेको भएतापनि बराह भगवानलाई सबैले आफ्नो कूल देवताको रुपमा मान्नु ।
  • सबैको कूलपूजा बिधि एउटै हुनु र गणेश भगवानलाई इष्ट देवता मान्नु ।
  • बिभिन्न कालखण्डमा बसाँई सरेर छरिएर बसोबास गरेको भएतापनि सबैको स्वभाव, चालचलन, रीतिरिवाज, क्षमतामा एकरुपता वा निकटता हुनु ।एकै परिवारका दाजु भाई मध्ये पनि कसैले बन्जाडे त कसैले बन्जारा लेख्नु ।

थर परिवर्तनका तथ्यहरुः

नेपाली शव्दकोषले “बन्जारा भनेको धोक्रो आफैले बोकेर वा अरुलाई बोकाएर व्यापार गर्ने घुमन्ते व्यापारीलाई बन्जारा भनिन्छ ।” वा एक थर हो” भनि परिभाषित गरेको छ । त्यस्तै इन्साइक्लोपेडियाका अनुसार “तिब्बतमा मिठाई बनाएर व्यापार गर्नेलाई बन्जारा भनिन्छ ।” गुगलमा बन्जारा भनी खोजी गर्दा “A community usually described as nomadic people from the North-Western belt of the Indian sub-continent.” भनी देखाउँछ ।

भारतमा दलित, घुमन्ते जीवन बिताउने, गाईने, स्याल मारेर खाने जातिलाई त्यहाँको स्थानीय भाषाको आधारमा बन्जारा भनिने गरिन्छ । भारतमा केही बन्जाराहरु सम्भ्रान्त र सामाजिक एवं राजनितिक हिसावले अब्बल दर्जामा रहेको थरको रुपमा चिनिने गरेको पनि पाईन्छ । यी सबै तथ्यहरु भारतमा बसोबास गर्ने मानिसहरु सँग सम्बन्धित छन । हाम्रो समाजमा रहेको कुसंस्कारका कारणले नेपालमा कथित दलित समुदायमा रहेका व्यक्तिहरुले पनि दलित हुँदाका पिडा भुल्नको लागि बन्जारा तथा बन्जाडे थर लेख्ने गरेको कारणले कतै कतै बन्जारा तथा बन्जाडे भनेको दलित थर हो भन्ने गरेको पनि सुनिन्छ । साथै नेपालका केही मुस्लिम समुदायले आफ्नो थरको पछाडि पुरुषले बन्जारा र महिलाले बन्जारिन जोडेर लेख्ने गरेको पाईन्छ । तर नेपालको सिंजा राज्यबाट शुरु भई कालिकोट र सल्यान हुँदै हाल देशका बिभिन्न स्थानमा बसोबास गर्ने कौडिन्य गोत्रका बन्जारा तथा बन्जाडे ब्राम्हणसँग यी तथ्यहरु कुनै प्रकारले पनि सम्बन्धित छैनन ।

साथै बन्जारा तथा बन्जाडे ब्राम्हणहरुलाई बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा, विद्यालय तथा कलेजहरुमा, बिभिन्न सभा, समारोह तथा अन्य सार्वजानिक भेलाहरुमा कहिँ कतै अल्पसंख्यक भएकै आधारमा, पहिला कहिल्यै नसुनेकै आधारमा बन्जारा तथा बन्जाडे थर प्रति प्रकट गरिएका आश्चर्य एवं जिज्ञासाबाट हिनताबोध गरी नगन्य संख्यामा केही बन्जारा तथा बन्जाडे थर नलेखी शर्मा र सगोत्री अन्य थरहरु लेख्ने चलन पनि रहेको देखिन्छ । यस्तै कारणले गर्दा पनि हुन सक्छ कतै–कतै बन्जारा तथा बन्जाडेहरुले हामी न्यौपाने, आचार्यका सन्तान हौं भन्ने गर्नुभएको पनि सुन्न पाईन्छ । समय बित्दै जादा हाम्रा पुर्खाले फरक भने, लेखे, सुने होलान, हामीलाई अर्को थरबाटै आएको हौं कि भन्ने भ्रम पनि होला तर हाम्रो थरको उत्पत्तिको हाम्रै आफ्नो इतिहास छ । हामी अन्य कुनै थरीबाट बन्जारा बन्जाडे भएका भने हैनौं भन्ने तथ्यलाई यसै लेखमा उल्लेख गरिएका तमाम बिषयहरुले प्रमाणित गरिसकेको छ ।

निश्कर्षः

हाम्रा अग्रज बन्जारा तथा बन्जाडे बन्धुहरुले बि.सं. २०४६ साल देखि पटक–पटक कौडिन्य गोत्रका बन्जारा तथा बन्जाडे बन्धुहरुलाई जोड्न बिभिन्न ठाऊँमा भेला आयोजना गरी छलफल पश्चात तदर्थ समिति गठन लगायतका बिभिन्न प्रयासलाई उच्च सम्मान गर्दै उहाँहरुले देखाउनु भएको सपना साकार पार्न २०७५ साल बैशाख २१ गते भक्तपुरको बालकोटमा भएको प्रारम्भिक भेला र २०७५ साल जेष्ठ १२ गते काभ्रेको पनौतिमा देशैभरका बन्धुहरुको उपस्थितिमा भएको बृहत प्रथम राष्ट्रिय भेलाबाट बन्जारा तथा बन्जाडे समाज नेपालको गठन भयो । र यसले देशभरका बन्जारा तथा बन्जाडे बन्धुहरुलाई एकत्रित गरी अब देखि आफ्नो थरमा हिनताबोध होईन गौरब महशुस गर्न सक्ने गरी पहिचान स्थापित गर्दै Online Software को विकास गरी बंशावली तयार गर्ने र थप खोज र अनुसन्धानका माध्यमबाट उत्पत्तिको ऐतिहासिक तथ्यहरु अझ नजिक पुगेर एकिन गर्ने लगायत समस्त बन्धुहरुका बीच बिभिन्न सामाजिक कार्यहरु सम्पन्न गर्न दृढ संकल्पका साथ पहल कदमी लिईरहेको छ ।

संस्थाका केन्द्रीय सल्लाहकार कास्की निवासी श्री डालराज बन्जाराज्यू र ५ नं., गण्डकी एवं सुदुर पश्चिम प्रदेशका संयोजक अर्घाखाँची निवासी श्री पिताम्वर बन्जाडेज्यूको प्रत्यक्ष सल्लाह, सुझाब र सहयोगमा यो लेख तयार गरिएको हो ।

संकलनकर्ताहरुः

दिपेन्द्रकुमार शर्मा बन्जारा
जन्मस्थानः खोटेहाङ्ग गा.पा.–७, खोटाङबजार, खोटाङ
हालः चाँगुनारायण न.पा.–२, दुवाकोट, भक्तपुर

पवन बन्जाडे
जन्मस्थानः सन्धिखर्क न.पा.–१, किमडाँडा, अर्घाखाँची
हालः सुर्यविनायक न.पा.–२, वालकोट, भक्तपुर

रामकुमार बन्जारा
जन्मस्थानः पनौति न.पा.–८, खरिवोट, बन्जारागाऊँ, काभ्रे
हालः सोही स्थान

राजकुमार बन्जारा
जन्मस्थानः मेलम्ची न.पा.–२, सुयलछाप, सिन्धुपाल्चौक
हालः गोकर्णेश्वर न.पा.–७, दक्षिणढोका, काठमाण्डौ